सूर्यविनायकमा एचपीभी खोप अभियान शुभारम्भ, अभियान सफल बनाउन सबैमा आह्वान

दधिकोट, २६ माघ । सूर्यविनायक नगरपालिकामा पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप अभियान सुरु गरिएको छ। सोमबार सूर्यविनायक नगरपालिका–४ स्थित अरनिको माध्यमिक विद्यालयबाट बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा मगरले अभियानको औपचारिक शुभारम्भ गर्नुभएको हो।

कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव तथा प्रसूति रोग विशेषज्ञ डा. सुमित्रा गौतम, सूर्यविनायक नगरपालिकाकी उप–प्रमुख सरिता तिमिल्सिना भट्टराई, प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य, नगर प्रवक्ता रवीन्द्र सापकोटा, वडा नं. ४ का वडा अध्यक्ष लछुराम न्यौपाने र जिल्ला जनस्वास्थ्य कार्यालय भक्तपुरकी प्रमुख अञ्जना खड्का लगायतको सहभागिता रहेको थियो।

अभियान सफल पार्न सबैमा आह्वान गर्दै मन्त्री थापाले सरकारले गत वर्ष र यस वर्ष निःशुल्क रूपमा एचपीभी खोप उपलब्ध गराएकाले कुनै पनि किशोरी खोपबाट वञ्चित हुन नहुने बताउनुभयो।

नेपालमा भयावह बन्दै गएको क्यान्सर रोगहरूमध्ये पाठेघरको मुखको क्यान्सर पहिलो स्थानमा रहेकाले उक्त रोग नियन्त्रण तथा अन्त्यका लागि सरकारले सञ्चालन गरेको खोप अभियानमा सबैको सक्रिय सहभागिता आवश्यक रहेको उहाँको भनाइ थियो।

उहाँले नेपालमा पाठेघरको मुखको क्यान्सरका कारण प्रत्येक दिन चार महिलाको मृत्यु हुने गरेको तथ्याङ्क उल्लेख गर्दै त्यसको न्यूनीकरणका लागि सरकारले विशेष प्राथमिकताका साथ खोप अभियान सञ्चालन गरेको जानकारी दिनुभयो।

कार्यक्रममा बागमती प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव तथा प्रसूति रोग विशेषज्ञ डा. सुमित्रा गौतमले पाठेघरको मुखको क्यान्सर न्यूनीकरणका लागि लगाइने एचपीभी खोप शारीरिक सम्पर्क तथा यौन क्रियाकलापमा सक्रिय हुनुअघि दिँदा बढी प्रभावकारी हुने भएकाले १० देखि १४ वर्ष उमेर समूहका किशोरीलाई लक्षित गरी खोप अभियान सञ्चालन गरिएको बताउनुभयो।

उहाँले महिलामा हुने क्यान्सरमध्ये पाठेघरको मुखको क्यान्सर नेपालमा पहिलो र स्तन क्यान्सर दोस्रो स्थानमा रहेको उल्लेख गर्दै बागमती प्रदेशका १३ जिल्लामा खोप अभियान सफल बनाउन जिल्ला, स्थानीय तह तथा सम्बन्धित निकायसँग समन्वय गरी अभियान सञ्चालन गरिएको जानकारी दिनुभयो।

नगर उप्रमुख भट्टराईले पाठेघरको मुखको क्यान्सर विरुद्ध लगाइने खोप अभियानमा लक्षित समूह कसैलाई पनि छुटाउन नहुनेमा जाेड दिनुभयो ।

नगरपालिकाले नगरभित्र कक्षा ६ मा अध्ययनरत किशोरीहरूलाई लक्षित गरी १ हजार १५ जना किशोरीलाई एचपीभी खोप लगाउने लक्ष्य लिएको जनाएको छ।

खोप कार्यक्रम माघ २६ गतेदेखि फागुन २९ गतेसम्म विद्यालयमार्फत सञ्चालन गरिनेछ। विद्यालयमै खोप लगाउन छुटेका किशोरीहरूका लागि फागुन १ गतेदेखि नगरपालिका अन्तर्गतका वडा स्वास्थ्य संस्थामार्फत खोप सेवा उपलब्ध गराइनेछ।

जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार भक्तपुर जिल्लामा यस वर्ष ३५ वटा स्वास्थ्य संस्था तथा खोप केन्द्र र ८० वटा विद्यालयमार्फत तीन हजार ८८१ जना किशोरीलाई एचपीभी खोप लगाइने अनुमान गरिएको छ।

जसमा कक्षा ६ मा अध्ययनरत तीन हजार ८४९ किशोरी, १० वर्ष उमेर समूहका १६३ जना तथा गत वर्ष खोप लगाउन छुट भएका ७ देखि १० वर्ष उमेर समूहका ३० जना किशोरी समावेश छन्।

वडा नं. ४ का वडाध्यक्ष तथा विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष लछुराम न्यौपानको सभापतीत्वमा सम्पन्न शुभारम्भ कार्यक्रममा विद्यालयका प्रधानाध्यापक महेन्द्र श्रेष्ठ, स्वास्थ्य शाखाका प्रमुख बसन्त चापागाईँ लगायत सहभागि हुनुहुन्थ्यो ।