बालमैत्री घोषणाको तयारी तीव्र, सूर्यविनायक–४ मा सचेतना ¥याली

दधिकोट, २९ माघ : सूर्यविनायक नगरपालिका वडा नं. ४ ले बिहिवार बालमैत्री नगर निर्माणको उद्देश्यसहित सचेतना ¥याली सम्पन्न गरेको छ।

वडा क्षेत्रभित्र सञ्चालन गरिएको उक्त ¥यालीमा ८ वटा विद्यालय, स्वास्थ्य चौकी, खानेपानी उपभोक्ता समिति, नेपाल प्रहरी तथा वडा समितिका पदाधिकारी र कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। ¥यालीमा जनप्रतिनिधिहरूको पनि सक्रिय सहभागिता देखिएको थियो।

कार्यक्रमका क्रममा वडाध्यक्ष लछु राम न्यौपानेले छिट्टै आवश्यक सबै सूचकहरू पूरा गरी बालमैत्री वडा घोषणा गरिने बताउनुभयो। उहाँले बालबालिकाको हक, हित र सुरक्षालाई सुनिश्चित गर्ने गरी वडा तहबाटै प्रभावकारी काम अघि बढाइएको उल्लेख गर्नुभयो।

¥यालीमार्फत बालअधिकार संरक्षण, बाल सहभागिता, सुरक्षित वातावरण तथा बालमैत्री सेवा प्रवाहका विषयमा स्थानीय समुदायमा सशक्त सन्देश प्रवाह गरिएको वडा कार्यालयले जनाएको छ।

कार्यक्रमबारे जानकारी दिँदै वडा बाल सहजकर्ता सीमा न्यौपानेले बालमैत्री नगर निर्माणका लागि समुदाय, विद्यालय र सरोकारवाला निकायबीच सहकार्य आवश्यक रहेको बताउनुभयो।

यसैबीच, सूर्यविनायक नगरपालिका २०८३ जेठभित्र बालमैत्री नगर घोषणा गर्ने तयारीलाई तीव्र रूपमा अघि बढाइरहेको छ। सो लक्ष्य प्राप्तिका लागि नगरका १० वटै वडामा आवश्यक नीति, संरचना तथा कार्यक्रम कार्यान्वयनको चरणमा नगरपालिकाले काम अघि बढाएको छ।