चित्तपोल,२९ माघ : सूर्यविनायक नगरपालिका आयोजनामा चित्तपोल स्वास्थ्य चौकी र जानत्रा संस्थाको संयुक्त समन्वय तथा सहकार्यमा आज यस वडास्थित महाँकालेश्वर आधारभूत विद्यालयमा निःशुल्क छाती रोग परीक्षण शिविर सम्पन्न भएको छ।

शिविरमा जम्मा १४९ जनाले सहभागिता जनाई स्वास्थ्य परीक्षण गराएका थिए। प्रारम्भिक स्वास्थ्य परीक्षणका क्रममा ११ जनामा छाती रोगको शंका देखिएकामा खकार परीक्षण गर्दा २ जनामा क्षयरोग पुष्टि भएको जनाइएको छ।

पुष्टि भएका व्यक्तिहरूलाई आवश्यक परामर्शसहित थप उपचारका लागि सम्बन्धित स्वास्थ्य संस्थामा रेफर गरिएको छ।

कार्यक्रम भव्य र सफल रूपमा सम्पन्न गराउन सहयोग पुर्याउनु हुने सम्पूर्ण स्वास्थ्यकर्मी, आयोजक संस्था, स्वयंसेवक तथा स्थानीय सरोकारवालाप्रति आयोजकले धन्यवाद व्यक्त गरेका छन्।

जनप्रतिनिधि शर्मिला लम्साल बस्नेतले यस्ता स्वास्थ्य शिविरले समुदायस्तरमा रोग पहिचान र स्वास्थ्य सचेतना बढाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनु भएको छ ।


