सूर्यविनायकको कक्षा ८ परीक्षाको नतिजा सार्वजनिक, ७५.६९ प्रतिशत विद्यार्थी उत्तीर्ण

सूर्यविनायक नगरपालिका अन्तर्गत रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूको आधारभूत तह (कक्षा ८) को परीक्षाको नतिजा सार्वजनिक गरिएको छ।

नगर उपप्रमुख सरिता तिमसिना भट्टराईको संयोजकत्वमा गठित परीक्षा समितिबाट सञ्चालन गरिएको उक्त परीक्षामा कुल १६४१ विद्यार्थी इमिसमा दर्ता भएका थिए भने १६३० जनाले परीक्षा फाराम भरेका थिए। तीमध्ये १६२५ जना विद्यार्थी परीक्षामा सहभागी भएका थिए।

सार्वजनिक नतिजा अनुसार १२३० जना विद्यार्थी उत्तीर्ण (ग्रेडेड) भएका छन्, जुन कुल सहभागीमध्ये ७५.६९ प्रतिशत हो। त्यस्तै ३९५ जना विद्यार्थी अनुत्तीर्ण (नन-ग्रेडेड) भएका छन्, जुन २४.३० प्रतिशत रहेको छ।

नगर उपप्रमुख सरिता तिमसिना भट्टराईको संयोजकत्वमा सञ्चालन गरिएको यस परीक्षाको नतिजा समग्रमा सन्तोषजनक रहेको जनाइएको छ।

साथै नगरपालिका शिक्षा शाखाका अनुसार नन-ग्रेडेड विद्यार्थीहरूका लागि ग्रेड वृद्धि (सप्लिमेन्ट्री) परीक्षा सञ्चालन गरिने भएको छ, जसबाट विद्यार्थीहरूको शैक्षिक सुधारमा थप योगदान पुग्ने अपेक्षा गरिएको छ।