संघीय सरकारको निर्णय कार्यान्वयन गर्न विद्यालयहरूलाई सूर्यविनायक नगरपालिकाको आग्रह: नीतिविपरीत गतिविधि गरे कारबाही गर्ने चेतावनी

सूर्यविनायक नगरपालिकाले संघीय सरकार तथा शिक्षा तथा मानव स्रोत विकास केन्द्रको निर्देशनअनुसार नै सबै सामुदायिक तथा संस्थागत विद्यालय सञ्चालन गर्न स्पष्ट आह्वान गरेको छ।

नगरपालिकाले जारी गरेको सूचनामा शैक्षिक सत्र २०८३ का सबै कार्यक्रमहरू केन्द्रको मापदण्डअनुसार नै सञ्चालन गर्न निर्देशन दिँदै वैशाख २१ गतेदेखि नियमित पठनपाठन सुरु गर्ने तयारी मिलाउन सबै विद्यालयलाई आग्रह गरिएको छ।

त्यसैगरी, भर्ना अभियानका नाममा केन्द्रको निर्देशन विपरीत अनावश्यक शुल्क लिने, अनियमित भर्ना प्रक्रिया अपनाउने जस्ता गतिविधि भइरहेको विषयमा नगरपालिकाले गम्भीर ध्यानाकर्षण गराएको छ।

नगरपालिकाले यस्ता निर्देशन विपरीतका कार्य नगर्न विद्यालयहरूलाई चेतावनी दिँदै, संघीय सरकारको नीति र निर्देशन उल्लंघन गर्ने विद्यालयहरूलाई आवश्यक कानुनी तथा प्रशासनिक कारबाही गरिने स्पष्ट पारेको छ।

साथै, शैक्षिक योजना निर्माण, वार्षिक कार्यतालिका कार्यान्वयन र सिकाइ उपलब्धि सुधारका कार्यक्रमलाई प्रभावकारी रूपमा लागू गर्न समेत जोड दिइएको छ।