कटुन्जे, १ जेठ : सूर्यविनायक नगरपालिका अन्तर्गत रहेका विद्यालयहरूको एसईई २०८२ को नतिजा उत्साहजनक देखिएको छ। शिक्षा विकास तथा समन्वय इकाई भक्तपुरमार्फत प्राप्त नतिजा विवरणका आधारमा नगरपालिकाले सामुदायिक तथा संस्थागत विद्यालयहरूको नतिजा सार्वजनिक गरेको हो।
प्रकाशित विवरणअनुसार नगरपालिकाअन्तर्गत रहेका ४२ वटा संस्थागत तथा १० वटा सामुदायिक विद्यालयका विद्यार्थीहरू एसईई परीक्षामा सहभागी भएका थिए। यस वर्ष संस्थागत विद्यालयतर्फका ९ जना विद्यार्थीले चार जीपीए प्राप्त गर्न सफल भएका छन्। केही विद्यालयले शतप्रतिशत नतिजा ल्याएका छन् भने अधिकांश विद्यालयको उत्तीर्ण प्रतिशत सन्तोषजनक रहेको जनाइएको छ।
नगरपालिकाका अनुसार अघिल्ला वर्षहरूको तुलनामा सामुदायिक विद्यालयहरूको नतिजामा समेत सकारात्मक सुधार देखिएको छ। यसले सामुदायिक विद्यालयहरूको शिक्षण सिकाइ तथा शैक्षिक गुणस्तरमा उल्लेखनीय वृद्धि भइरहेको संकेत गरेको बताइएको छ।
नगरप्रमुख बासुदेव थापाले नगरपालिकाले विगतदेखि नै शैक्षिक गुणस्तर सुधार तथा शैक्षिक क्षेत्रको विकास र विस्तारका लागि आवश्यक योजना, कार्यक्रम र सहकार्यलाई प्राथमिकतामा राखेर निरन्तर काम गर्दै आएको बताउनु भएको छ।
उहाँले आगामी दिनमा पनि विद्यालयहरूको शैक्षिक स्तर अझ प्रभावकारी बनाउन आवश्यक सहयोग र समन्वयलाई थप सशक्त बनाइने उल्लेख गर्नुभएको छ।
उपप्रमुख सरिता तिमसिना भट्टराईले आगामी दिनमा पनि सामुदायिक तथा संस्थागत विद्यालयहरूको गुणस्तर अभिवृद्धिका लागि विशेष योजना तथा कार्यक्रममार्फत थप सहयोग, सहकार्य र समन्वय गर्दै जाने बताउनु भएको छ।
प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले विगतका वर्षहरूको तुलनामा विद्यालयहरूको नतिजामा निरन्तर सुधार देखिँदै गएको बताउनु भएको छ।
उहाँले शिक्षा शाखामार्फत विद्यालयहरूको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि आवश्यक सहजीकरण, अनुगमन तथा सहयोगात्मक कार्यक्रमहरू प्रभावकारी रूपमा सञ्चालन भइरहेको उल्लेख गर्नुभएको छ।
साथै, शैक्षिक सुधारका लागि आवश्यक सहकार्य र व्यवस्थापनमा कुनै कमी नराखिएको पनि उहाँले बताउनु भएको छ।
उहाँले एसईई परीक्षामा सहभागी सम्पूर्ण विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै आगामी सफलताका लागि शुभकामना व्यक्त गर्नुभएको छ।
विद्यालयहरूको नतिजाले समग्र शैक्षिक स्तर सुधारतर्फ सकारात्मक संकेत गरेको देखिएको छ।





