गुण्डुमा एकदिने हाटबजारले बढायो व्यापारिक चहलपहल, स्थानीय उत्पादन प्रवर्द्धनमा टेवा, करिब साढे ५ लाखको कारोबार

भक्तपुर, गुण्डु (सूर्यविनायक), २ जेठ —सूर्यविनायक नगरपालिकाको आयोजना तथा वडा नं. ७ को व्यवस्थापनमा गुण्डुस्थित वडा कार्यालय परिसरमा आयोजित एकदिने हाट बजार भव्य र सभ्य रूपमा सम्पन्न भएको छ।

नगरपालिकाका अनुसार उक्त हाट बजारमा उद्यमी, व्यवसायी तथा कृषकहरूका गरी करिब ३० वटा स्टलहरू सञ्चालनमा आएका थिए। बजारमा करिब २ हजार उपभोक्ताले अवलोकन तथा किनमेल गरेका थिए।

वडा नं. ७ का वडाध्यक्ष रवीन्द्र सापकोटाका अनुसार हाट बजारमा करिब ५ लाख ५० हजार रुपैयाँ बराबरको कारोबार भएको छ। उहाँका अनुसार सहभागी उद्यमी तथा उपभोक्ताहरू उत्साहित देखिएका थिए।

सहज व्यवस्थापन, सुरक्षित वातावरण तथा उपभोक्तामैत्री पहुँचका कारण यस्ता हाट बजारलाई नियमित रूपमा—हप्तामा एक पटक वा कम्तीमा महिनामा एक पटक सञ्चालन गर्नुपर्ने सुझाव उपभोक्ताहरूले दिएका छन्।

कार्यक्रमको सफल सञ्चालनका लागि उद्यमी, उपभोक्ता, वडा नं. ७ का जनप्रतिनिधि, कर्मचारी, नगर प्रहरी तथा प्रहरी प्रशासनको महत्वपूर्ण सहयोग रहेको आयोजकले जनाएको छ ।

कार्यक्रममा सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता भट्टराई, वडा नं. १ का वडाध्यक्ष सानु काजी कायस्थ, वडा नं. २ का वडाध्यक्ष प्रदीप कार्की, वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेत लगायत विभिन्न वडाका जनप्रतिनिधिहरू, नगरका जनप्रतिनिधि तथा कर्मचारीहरूको उपस्थिति रहेको थियो।