भक्तपुर जिल्लामा सूर्यविनायक नगरपालिका सबैभन्दा कम बेरुजु कायम गर्न सफल, विगतभन्दा उल्लेखनीय सुधार

कटुन्जे, ५ जेठ : महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को ६३औँ वार्षिक लेखापरीक्षण प्रतिवेदनअनुसार सूर्यविनायक नगरपालिका भक्तपुर जिल्लाका चार नगरपालिकामध्ये सबैभन्दा कम बेरुजु कायम गर्न सफल भएको छ ।

प्रतिवेदनअनुसार सूर्यविनायक नगरपालिकाको बेरुजु प्रतिशत १.०२ रहेको छ । त्यसपछि मध्यपुर थिमि नगरपालिका को १.२८ प्रतिशत, भक्तपुर नगरपालिका को १.९२ प्रतिशत तथा चाँगुनारायण नगरपालिका को २.२३ प्रतिशत बेरुजु रहेको उल्लेख गरिएको छ । यसले आर्थिक अनुशासन, पारदर्शिता, उत्तरदायित्व तथा प्रभावकारी प्रशासनिक अभ्यासमा सूर्यविनायक नगरपालिका जिल्लामै अग्रस्थानमा रहेको पाईएको हो ।

यस उपलब्धिको प्रमुख आधारका रूपमा नगर प्रमुख बासुदेव थापाको नेतृत्वलाई हेरिएको छ । उहाँ विगत नौ वर्षदेखि नगरपालिकाको नेतृत्व गर्दै आउनुभएको छ ।

विकास निर्माणलाई केन्द्रमा राख्दै राजनीतिक प्रतिस्पर्धाभन्दा सहकार्य र समन्वयको अभ्यासलाई प्राथमिकतामा राखेर उहाँले अधिकांश निर्णय सर्वसम्मत ढंगले अघि बढाउँदै आउनुभएको छ ।

“राजनीतिमा स्वस्थ प्रतिस्पर्धा, विकास निर्माणमा एकता” भन्ने अवधारणालाई व्यवहारमै लागू गर्दै नगरपालिकालाई योजनाबद्ध, उत्तरदायी र विकासमुखी ढंगले अघि बढाइएको स्थानीय तहका जानकारहरू बताउँछन् ।

त्यसैगरी नगरपालिकाले सक्षम, अनुभवी तथा परिणाममुखी प्रशासनिक नेतृत्व पनि पाएको छ । विगत एक वर्षदेखि प्रमुख प्रशासकीय अधिकृतका रूपमा युवराज आचार्य ले जिम्मेवारी सम्हाल्दै आउनुभएको छ ।

उहाँ यसअघि कार्यरत स्थानीय तहहरूमा पनि बेरुजु घटाउने, आर्थिक अनुशासन सुदृढ गर्ने तथा पारदर्शी प्रशासनिक प्रणाली स्थापित गर्ने सफल प्रशासनिक नेतृत्वको रूपमा परिचित रहँदै आउनुभएको छ ।

सूर्यविनायक नगरपालिकामा आएपछि बजेट कार्यान्वयनलाई व्यवस्थित बनाउने, खर्च प्रणालीलाई थप पारदर्शी बनाउने, कागजी तथा प्रशासनिक अभिलेखीकरणलाई चुस्त बनाउने, योजनाको प्रभावकारी अनुगमन गर्ने तथा सार्वजनिक उत्तरदायित्वलाई संस्थागत रूपमा मजबुत बनाउने काममा विशेष जोड दिँदै आउनुभएको थियो । त्यसकै परिणामस्वरूप विगतको तुलनामा बेरुजु अझ घटाउन नगरपालिका सफल भएको विश्लेषण गरिएको छ ।

नगरपालिकाले पारदर्शी खर्च प्रणाली, समयमै लेखापरीक्षण, योजनाको प्रभावकारी कार्यान्वयन, संस्थागत समन्वय तथा जनउत्तरदायी प्रशासनलाई प्राथमिकतामा राख्दै काम गरिरहेको जनाएको छ ।

जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाबीचको सहकार्य, इमान्दारिता र जिम्मेवारीबोधकै कारण यस्तो उपलब्धि हासिल भएको नगरपालिकाको भनाइ छ ।

आगामी दिनमा पनि सुशासन, पारदर्शिता, आर्थिक अनुशासन तथा जवाफदेहितालाई अझ सुदृढ बनाउँदै यही अभ्यासलाई निरन्तरता दिने प्रतिबद्धता नगरपालिकाले जनाएको छ ।