सूर्यविनायक नगरपालिकामा सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी अभिमुखीकरण सम्पन्न

कटुन्जे, ५ जेठ : सूर्यविनायक नगरपालिका, रोजगार शाखा र सुरक्षित आप्रवासन केन्द्र (सामी परियोजना) को सहकार्यमा सुरक्षित वैदेशिक रोजगारी तथा वैदेशिक रोजगारसम्बन्धी सेवा प्रणालीलाई प्रभावकारी र संस्थागत बनाउने उद्देश्यसहित अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न गरिएको छ।

कार्यक्रमको उद्घाटन सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता भट्टराईले गर्नुभएको थियो। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यको समेत उपस्थिति रहेको थियो।

आर्थिक विकास समितिका संयोजक तथा नगर प्रवक्ता रबिन्द्र सापकोटाको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा नं. २ का वडाध्यक्ष प्रदीप कार्की, वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेत लगायतले आफ्ना धारणा व्यक्त गर्नुभएको थियो।

नगरपालिकाले वैदेशिक रोजगारमा जाने नागरिकहरूको सुरक्षा, सहजीकरण तथा अधिकार संरक्षणलाई प्राथमिकतामा राख्दै आयोजना गरेको उक्त कार्यक्रममा वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, शाखा प्रमुखहरू, वडा सदस्यहरू, मेलमिलापकर्ताहरू तथा विभिन्न सरोकारवालाहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

कार्यक्रममा बोल्दै उपप्रमुखले सुरक्षित वैदेशिक रोजगारी केवल प्रक्रिया मात्र नभई नागरिकको सुरक्षा, सूचना पहुँच, कानुनी सहजीकरण तथा स्थानीय तहको जिम्मेवारीसँग प्रत्यक्ष जोडिएको विषय भएको उल्लेख गर्दै सबै तहबीच समान बुझाइ र प्रभावकारी समन्वय आवश्यक रहेको बताउनुभयो।

उहाँका अनुसार नगरपालिकाबाट हालसम्म करिब ८ सय ५० जना नागरिक वैदेशिक रोजगारीमा गएको तथ्यांक रहेको छ। उनीहरूको अवस्था, समस्या तथा आवश्यकताको अभिलेख व्यवस्थित रूपमा संकलन गरी एकीकृत तथ्यांक प्रणाली निर्माण गर्ने विषयमा समेत छलफल गरिएको उहाँले जानकारी दिनुभयो।

वैदेशिक रोजगारका क्रममा ठगी, दुर्घटना, उद्धार, मृत्यु लगायतका जोखिमपूर्ण घटनामा परेका नागरिक तथा तिनका परिवारलाई आवश्यक सहजीकरण सुरक्षित आप्रवासन केन्द्रमार्फत गरिने र त्यसको समन्वय नगरपालिकाको रोजगार शाखाले गर्ने व्यवस्था मिलाइने बताइएको छ।

त्यसैगरी, न्यायिक समिति अन्तर्गत प्रत्येक वडामा रहेका मेलमिलापकर्ताहरूले विदेश जान लागेका, विदेशमा समस्या परेका वा कानुनी सहजीकरण आवश्यक परेका नागरिकलाई सम्बन्धित निकायसम्म पुर्‍याउन र आवश्यक सहयोग उपलब्ध गराउन महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरिएको छ।

कार्यक्रममा सामी परियोजनाका तर्फबाट प्रस्तुत कार्यपत्रमा वैदेशिक रोजगारमा जाने व्यक्तिहरूलाई प्रदान गरिने अभिमुखीकरण, सूचना तथा परामर्श सेवा, जनचेतनामूलक कार्यक्रम, सीप विकास तथा संकटमा परेकाको सहजीकरणका विषयमा विस्तृत जानकारी दिइएको थियो।

नगरपालिकाले आगामी दिनमा प्रत्येक वडाबाट वैदेशिक रोजगारमा गएका नागरिकको अवस्था अद्यावधिक गर्ने, सुरक्षित वैदेशिक रोजगारीसम्बन्धी सूचना प्रवाहलाई सुदृढ गर्ने तथा समस्यामा परेका नागरिक र परिवारलाई प्रभावकारी सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।