कटुन्जे, ५ जेठ । सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रको सहरी सौन्दर्य बिगार्ने अव्यवस्थित तार, होर्डिङ बोर्ड, पोस्टर तथा पम्प्लेट हटाउने अभियानलाई तीव्र बनाएको छ।

नगरपालिकाले सार्वजनिक सूचना जारी गर्दै सडक तथा बिजुलीका पोलहरूमा जथाभावी झुण्ड्याइएका इन्टरनेटका तार, विज्ञापन सामग्री र भित्ते प्रचार तत्काल हटाउन सम्बन्धित पक्षलाई कडा निर्देशन दिएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य द्वारा जारी सूचनामा नगर क्षेत्रलाई “कुरुप” बनाउने गतिविधि नियन्त्रण गर्न अभियान सुरु गरिएको उल्लेख छ।

नगरपालिकाका अनुसार विद्यालय, कलेज, विभिन्न व्यवसायिक संस्था तथा सेवा प्रदायकहरूले पोल, भित्तो र सार्वजनिक स्थानमा राखेका अनधिकृत होर्डिङ बोर्ड, ब्यानर, पोस्टर र पम्प्लेटले सहरी सौन्दर्य मात्र होइन, सार्वजनिक सुरक्षामै असर पुर्याएको छ।

अभियान अन्तर्गत पोलमा बेरिएका तथा लत्रिएका इन्टरनेट र केबलका तारहरू व्यवस्थापन गरिनेछ। अटेरी गर्ने सेवा प्रदायक तथा संस्थामाथि नगरपालिकाको ऐनअनुसार कारबाही गरिने चेतावनी समेत दिइएको छ।

नगरपालिकाको यो कदमलाई “सफा, सुरक्षित र व्यवस्थित सूर्यविनायक” अभियानको सुरुवातका रूपमा हेरिएको छ। अव्यवस्थित तारका कारण हुने आगलागी, दुर्घटना तथा दृश्य प्रदूषण नियन्त्रण गर्न यो अभियान प्रभावकारी हुने स्थानीयको अपेक्षा छ।

पछिल्लो समय देशका विभिन्न शहरहरूले सहरी सुन्दरतामा जोड दिइरहेका बेला सूर्यविनायक नगरपालिकाको यो कदमलाई स्थानीय तहको कडा र प्रभावकारी एक्सनका रूपमा हेरिएको छ।


