भक्तपुर, ५ जेठ । सूर्यविनायक नगरपालिकाले नगरपालिका क्षेत्रभित्र बिना अनुमति जथाभाबी जेसिबी (JCB) र स्काईभेटर प्रयोग गरी जग्गा सम्याउने, माटो उत्खनन गर्ने तथा ओसारपोसार गर्ने कार्यमाथि कडा प्रतिबन्ध लगाएको छ।
वर्षायाम सुरु भएसँगै भूक्षय, पहिरो तथा वातावरणीय जोखिम बढ्दै गएको भन्दै नगरपालिकाले यस्तो गतिविधिलाई नियन्त्रण गर्न ‘शून्य सहनशीलता नीति’ लागू गरेको हो।

नगरपालिका वा सम्बन्धित वडा कार्यालयको पूर्व स्वीकृति बिना कुनै पनि प्रकारको मेसिनरी औजार प्रयोग गर्न पूर्ण रूपमा निषेध गरिएको छ।
नगरपालिकाको निर्णयअनुसार बिना अनुमति जग्गा सम्याउने, घडेरी काट्ने, जग खन्ने वा माटो ओसारपोसार गर्ने कार्य अवैध मानिनेछ। यस्ता गतिविधि गरेको पाइएमा प्रचलित कानुन तथा नगरपालिकाको आर्थिक ऐन, २०८२ (प्रथम संशोधन) बमोजिम ३ लाख रुपैयाँसम्म जरिवाना सहित कडा कारबाही गरिने चेतावनी दिइएको छ।

नगरपालिकाले सबै वडा कार्यालय र नगर प्रहरीलाई निगरानी कडा बनाउन निर्देशन दिँदै नियम उल्लंघन गर्नेको मेसिनरी औजार समेत नियन्त्रणमा लिने तयारी गरेको जनाएको छ।


