जिसस प्रमुख थापाको निधनमा सूर्यविनायक-७ मा आज शोक बिदा

गुण्डु, १२ जेठ : जिल्ला समन्वय समिति (जिसस) भक्तपुरका प्रमुख ईश्वर बहादुर थापाको असामयिक निधन भएको छ। सूर्यविनायक नगरपालिका वडा नं. ७ (गुण्डु) बाट जनप्रतिनिधि निर्वाचित भई हाल जिल्ला समन्वय समिति भक्तपुरको प्रमुख पदमा बहाल रहनुभएका थापाको यही जेठ ११ गते सोमबारका दिन निधन भएको हो।

उहाँको असामयिक निधनले सम्पूर्ण वडा परिवार अत्यन्त मर्माहत भएको सूर्यविनायक नगरपालिका वडा नं. ७ को कार्यालयले जनाएको छ। स्वर्गीय थापाले स्थानीय शासन, सामाजिक सेवा तथा जनप्रतिनिधिको रूपमा समाजमा पुर्‍याउनुभएको अतुलनीय योगदानको उच्च सम्मान गर्दै वडा कार्यालयले आज शोक बिदा दिने निर्णय गरेको छ।

वडा अध्यक्ष रविन्द्र सापकोटाद्वारा जारी आधिकारिक सूचना अनुसार, आज जेठ १२ गते मंगलबारका दिन सूर्यविनायक नगरपालिका वडा नं. ७ को वडा कार्यालय तथा यस वडाको सेवा क्षेत्र भित्र रहेका सम्पूर्ण शिक्षण संस्थाहरू (विद्यालय) र स्वास्थ्य संस्थाहरूमा शोक बिदा रहनेछ।

वडा कार्यालयले एक शोक वक्तव्य जारी गर्दै स्वर्गीय थापाप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेको छ र यस दुःखद घडीमा शोकाकुल परिवारजनप्रति गहिरो समवेदना प्रकट गरेको छ।