सूर्यविनायक नगरपालिकाको निरन्तर एक्सन : फुटपाथ अतिक्रमणविरुद्ध कडा कारबाही, ठूलो मात्रामा सामान जफत

कटुन्जे, १२ जेठ । सूर्यविनायक नगरपालिकाले नगर क्षेत्रलाई व्यवस्थित, सफा र पैदलयात्रुमैत्री बनाउने अभियानलाई अझ व्यापक र आक्रामक बनाएको छ।

नगरपालिकाले नियम विपरीत फुटपाथ तथा सडक पेटी अतिक्रमण गरी जथाभावी व्यापार गर्ने, सार्वजनिक स्थान कब्जा गर्ने तथा नगरको सौन्दर्यमा असर पुर्‍याउने गतिविधिविरुद्ध निरन्तर कडा कारबाही गर्दै आएको छ।

साेमबार सूर्यविनायक चोक क्षेत्रमा फुटपाथ अतिक्रमण गरी राखिएका व्यापारिक सामग्री नगर प्रहरी बलले नियन्त्रणमा लिई जफत गरेको थियो। सोही अभियानलाई निरन्तरता दिँदै आज नगरका विभिन्न स्थानहरूमा समेत यस्ता गतिविधिविरुद्ध कारबाही गरिएको छ।

नगर प्रहरी बलले विभिन्न स्थानमा फुटपाथ तथा सडक पेटी अतिक्रमण गरी राखिएका दर्जनौँ सामग्रीहरू जफत गरेको छ। पटक–पटक सम्झाउँदा, सचेत गराउँदा तथा निर्देशन दिँदा पनि अटेरी गर्ने व्यवसायीहरूलाई लक्षित गर्दै नगरपालिकाले कडा रूपमा अभियान अघि बढाएको हो।

नगरपालिकाले सार्वजनिक सडक तथा फुटपाथलाई सर्वसाधारणको सहज आवतजावतका लागि सुरक्षित राख्नुपर्ने स्पष्ट गर्दै अब यस्ता गतिविधि कुनै पनि अवस्थामा स्वीकार्य नहुने जनाएको छ।

नगर क्षेत्रभर निरन्तर अनुगमन र कारबाही अभियान जारी रहने र नियम उल्लङ्घन गर्ने जो–कोहीमाथि बिना छुट कानुनी प्रक्रिया अघि बढाइने चेतावनी पनि दिएको छ।

नगरपालिकाले जारी गरेका निर्देशनहरूको पूर्ण पालना गर्न सम्पूर्ण व्यवसायी तथा सर्वसाधारणलाई आग्रह गर्दै अटेरी गरेमा जरिवानासहित कडा कारबाहीको भागीदार बन्नुपर्ने स्पष्ट पारेको छ।