सूर्यविनायक नगरपालिका–७ वडा कार्यालयद्वारा एसईई उत्तीर्ण विद्यार्थीलाई सम्मान

गुन्डु, १३ जेठ : सूर्यविनायक नगरपालिका–७ नं वडा कार्यालयको आयोजनामा एसईई २०८२ मा सहभागी भई उत्तीर्ण भएका विद्यार्थीहरूलाई बधाई तथा सम्मान कार्यक्रम सम्पन्न गरिएको छ।

वडा कार्यालयद्वारा आयोजित उक्त कार्यक्रममा वडा अध्यक्ष रबिन्द्र सापकोटा, नगर शिक्षा शाखा प्रमुख रत्न बहादुर कटुवाल तथा वडा जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो। उहाँहरूले उत्तीर्ण विद्यार्थीहरूलाई मायाको चिनो तथा सम्मानपत्र प्रदान गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभएको थियो।

वडा नं ७ भित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयहरूबाट उत्तीर्ण भएका तथा वडा क्षेत्रमा स्थायी रूपमा बसोबास गर्ने विद्यार्थीहरूलाई कार्यक्रममा सम्मान गरिएको हो।

वडा सचिव सूर्य माकजुका अनुसार कार्यक्रममा करिब १०७ भन्दा बढी विद्यार्थीलाई सम्मान गरिएको थियो।

कार्यक्रममा वक्ताहरूले विद्यार्थीहरूको मेहनतको प्रशंसा गर्दै शिक्षा नै जीवन निर्माणको आधार भएकाले आगामी दिनमा अझ उत्कृष्ट नतिजा हासिल गर्न प्रेरित गरेका थिए।