सिपाडाेल, १६ जेठ: स्थानीय उत्पादनले उचित बजार नपाउने र साना उद्यमीले आफ्ना वस्तु उपभोक्तासम्म पुर्याउन कठिनाइ भोगिरहेका बेला सूर्यविनायक नगरपालिका–८ ले घुम्ती हाटबजारमार्फत फरक अभ्यास अघि सारेको छ।
सिपाडोलमा आयोजित कार्यक्रममा स्थानीय उत्पादनको प्रदर्शनी तथा बिक्री गरिनुका साथै एसईई उत्तीर्ण १०० भन्दा बढी विद्यार्थीलाई सम्मान गरिएको छ।

सूर्यविनायक नगरपालिका र वडा नं. ८ को संयुक्त आयोजनामा सम्पन्न कार्यक्रमको उद्घाटन बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले गर्नुभएको थियो। कार्यक्रममा उहाँले यस्ता कार्यक्रमले स्थानीय उत्पादनको बजारीकरण, स्वरोजगार प्रवर्द्धन तथा आर्थिक गतिविधि विस्तारमा महत्वपूर्ण योगदान पुग्ने बताउनुभयो।
उहाँले सूर्यविनायक नगरपालिका विकास निर्माणसँगै स्वास्थ्य, शिक्षा र पूर्वाधारका क्षेत्रमा अग्रणी स्थानीय तहका रूपमा स्थापित हुँदै गएको उल्लेख गर्दै नगर अस्पतालमा विशेषज्ञ स्वास्थ्य सेवा सञ्चालन भइरहेको जानकारी दिनुभयो। भक्तपुर अस्पतालमा छिट्टै मुटुरोगसम्बन्धी सेवा सुरु हुने बताउँदै अब पूर्वी क्षेत्रका नागरिकले नजिकै गुणस्तरीय स्वास्थ्य सेवा पाउने विश्वास व्यक्त गर्नुभयो।

स्वास्थ्य सेवामा सबै नागरिकको पहुँच सुनिश्चित गर्ने लक्ष्यसहित प्रदेश सरकारले गाउँ–गाउँमा सेवा विस्तार गरिरहेको उहाँले जानकारी दिनुभयो। वडा नं. ४ गाम्चास्थित स्वास्थ्य केन्द्रको सेवा विस्तारका लागि नयाँ भवन निर्माण प्रक्रिया अघि बढिसकेको समेत उहाँले बताउनुभयो।
आगामी असार १ गते प्रस्तुत हुने प्रदेश बजेटमार्फत भक्तपुरका आवश्यकता र समस्यालाई सम्बोधन गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो।
नगर उपप्रमुख सरिता तिम्सिना भट्टराईले स्थानीय कृषि तथा घरेलु उत्पादनको प्रचारप्रसार र व्यापार अभिवृद्धि गर्ने उद्देश्यले नगरका विभिन्न वडामा घुम्ती हाटबजार सञ्चालन गरिएको बताउनुभयो।

नगर प्रवक्ता तथा वडा नं. ७ का वडाध्यक्ष रबिन्द्र सापकोटाले भौतिक पूर्वाधार विकाससँगै स्थानीय किसान र साना व्यवसायीलाई बजारसँग जोड्ने अभियानलाई नगरपालिकाले प्राथमिकता दिएको बताउनुभयो।
वडा नं. २ का वडाध्यक्ष प्रदीप कार्कीले पहिलो पटक आयोजना गरिएको घुम्ती हाटबजार सफल भएको र यसले स्थानीय उत्पादनको प्रवर्द्धनमा सकारात्मक प्रभाव पार्ने अपेक्षा व्यक्त गर्नुभयो।
कार्यक्रमका सभापति तथा वडा नं. ८ का वडाध्यक्ष पुष्पराज बस्नेतले “दिगो विकास, व्यवस्थित शहर, स्वच्छ र समृद्ध सूर्यविनायक नगर” भन्ने मूल नारासहित कार्यक्रम आयोजना गरिएको प्रष्ट पार्नुभयो। उहाँले स्थानीय उत्पादनको बिक्री, प्रवर्द्धन र उद्यमशीलताको विकासमा टेवा पुर्याउनुका साथै सफल विद्यार्थीको मनोबल उच्च बनाउने उद्देश्य रहेको बताउनुभयो।

हाटबजारमा ५५ भन्दा बढी स्टल राखिएका थिए। नर्सरी, नेवारी खाजा सेट, योमरी, बारा, पानीपुरी, चटपटे, फास्टफुड लगायतका खाद्य परिकारका स्टलसँगै हस्तकलाका सामग्री, हस्तनिर्मित गरगहना, मखमली जुत्ता, कपडाका कुसन कभर तथा घरेलु उद्योगका उत्पादन प्रदर्शन तथा बिक्रीका लागि राखिएका थिए। अचार, सुत्केरी मसला, ड्राइफ्रुट्स, धूप, बेसार, गुन्द्रुक लगायतका स्थानीय उत्पादन तथा कृषकहरूले उत्पादन गरेका ताजा तरकारी र हर्बल सामग्री हाटबजारका प्रमुख आकर्षण बनेका थिए।
कार्यक्रमलाई थप आकर्षक बनाउन मानस राज तथा सांगीतिक ब्यान्डको विशेष प्रस्तुति समेत राखिएको थियो।
वडा सदस्य अन्जना बिसुङ्खेको सञ्चालनमा सम्पन्न कार्यक्रमले स्थानीय उत्पादनको बजारीकरण, उद्यमशीलताको प्रवर्द्धन र सफल विद्यार्थीको हौसला अभिवृद्धिमा सकारात्मक योगदान पुग्ने आयोजकले विश्वास व्यक्त गरेका छन्।


