बालकोटमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न, २३० जना लाभान्वित

बालकाेट, १९ जेठ : सूर्यविनायक नगरपालिकाको आयोजना तथा बालकोट स्वास्थ्य चौकीको समन्वयमा अपाङ्गता भएका व्यक्ति, उहाँहरूका परिवार तथा ज्येष्ठ नागरिकलाई लक्षित विशेष सेवासहितको निःशुल्क स्वास्थ्य शिविर बालकोट स्वास्थ्य चौकीमा सफलतापूर्वक सम्पन्न भएको छ।

शिविरमार्फत सामान्य चिकित्सा, हाडजोर्नी, स्त्रीरोग, फिजियोथेरापी, प्रयोगशाला सेवा, भिडियो एक्सरे (USG), स्वास्थ्य परामर्श, ज्येष्ठ नागरिक सेवा तथा निःशुल्क औषधि वितरण लगायतका सेवाहरू प्रदान गरिएको थियो। शिविरबाट कुल २३० जना सेवाग्राही लाभान्वित भएका छन्।

कार्यक्रमका क्रममा सूर्यविनायक नगरपालिकाकी उपप्रमुख सरिता तिम्सिना भट्टराईले शिविर स्थलको निरीक्षण गर्दै सेवाग्राही तथा स्वास्थ्यकर्मीहरूसँग अन्तरक्रिया गर्नुभएको थियो।

उहाँले नागरिकको सहज पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउने यस्ता कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै लैजानुपर्नेमा जोड दिनुभएको थियो।

वडा अध्यक्ष प्रदीप कार्कीले शिविरबाट २३० जना सेवाग्राही लाभान्वित भएको जानकारी दिँदै यस्ता कार्यक्रमले नागरिकलाई घरदैलोमै स्वास्थ्य सेवा उपलब्ध गराउन महत्वपूर्ण सहयोग पुगेको बताउनुभयो।

उहाँले स्वास्थ्य सेवाबाट वञ्चित हुन सक्ने समुदायलाई लक्षित गरी सञ्चालन गरिएका यस्ता शिविरहरूले स्वास्थ्य सचेतना अभिवृद्धि गर्नुका साथै आधारभूत स्वास्थ्य सेवामा नागरिकको पहुँच विस्तार गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गर्नुभयो।

स्वस्थ नागरिक, समृद्ध समाज निर्माणको लक्ष्यसहित सञ्चालन गरिएको यस्ता जनमुखी कार्यक्रमलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताउँदै अध्यक्ष कार्कीले नागरिकको सहज पहुँचमा गुणस्तरीय स्वास्थ्य सेवा पुर्‍याउन नगरपालिका प्रतिबद्ध रहेको बताउनुभयो।