सूर्यविनायकबाटै प्यान कार्ड सेवा औपचारिक रूपमा सुरु, पहिलो प्रमाणपत्र सेवाग्राहीलाई हस्तान्तरण

कटुञ्जे, २० जेठ : सूर्यविनायक नगरपालिकाले आजदेखि नगरपालिकामार्फतै प्यान कार्ड जारी गर्ने सेवा औपचारिक रूपमा सुरु गरेको छ। सेवाको शुभारम्भसँगै पहिलो प्यान प्रमाणपत्र सम्बन्धित सेवाग्राहीलाई हस्तान्तरण गरिएको छ।

नगर प्रमुख बासुदेव थापाले पहिलो व्यावसायिक प्यान प्रमाणपत्र सेवाग्राहीलाई हस्तान्तरण गर्दै स्थानीय तहबाटै करसम्बन्धी सेवा उपलब्ध हुन थालेपछि नगरवासीलाई ठूलो सहजता हुने विश्वास व्यक्त गर्नुभयो। उहाँले आन्तरिक राजस्व कार्यालयसम्म पुग्नुपर्ने झन्झट घट्ने र सेवा प्रवाह अझ प्रभावकारी बन्ने बताउनुभयो।

आन्तरिक राजस्व विभागको निर्णयअनुसार आन्तरिक राजस्व कार्यालय भक्तपुर र सूर्यविनायक नगरपालिकाबीच भएको समझदारी कार्यान्वयनमा आएपछि नगरपालिकाबाटै प्यान दर्ता तथा अन्य करसम्बन्धी सेवा सुरु गरिएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यका अनुसार अब व्यक्तिगत तथा व्यावसायिक प्यान दर्ता नगरपालिकामार्फतै गर्न सकिनेछ। साथै मूल्य अभिवृद्धि कर (भ्याट), अन्तःशुल्क तथा कर चुक्तासम्बन्धी प्रारम्भिक कागजात पनि नगरपालिकामै पेश गर्न सकिने व्यवस्था मिलाइएको छ।

नीति, योजना तथा अनुगमन र राजस्व शाखा प्रमुख पुष्पराज न्यौपानेका अनुसार व्यक्तिगत प्यान, व्यावसायिक प्यान, करदाता विवरण संशोधन, आयकर कारोबार बन्द, भ्याट दर्ताका लागि सिफारिस तथा कर चुक्तासम्बन्धी सिफारिसका साथै घर बहाल कर संकलनलाई प्रभावकारी बनाउन “घर बहाल स्व-घोषणा अभियान” समेत सञ्चालन गरिएको छ।

उहाँका अनुसार यी सबै सेवा नगरपालिकामार्फतै उपलब्ध गराइने र आवश्यक कागजात आन्तरिक राजस्व कार्यालयमा समन्वय गरी प्रक्रिया पूरा भएपछि प्रमाणपत्र पनि नगरपालिकाबाटै उपलब्ध गराइने व्यवस्था गरिएको छ।

नगरपालिकाले करदाता–मैत्री सेवा विस्तार गर्दै स्थानीय तहबाटै राजस्वसम्बन्धी सेवा प्रदान गर्ने लक्ष्यसहित यो व्यवस्था लागू गरिएको जनाएको छ। यसबाट सेवाग्राहीको समय र लागत दुवै बचत हुनुका साथै सेवा प्रवाह थप सहज र प्रभावकारी हुने अपेक्षा गरिएको छ।