आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमका लागि सूर्यविनायकले माग्यो नगरवासीको सुझाव

कटुञ्जे, २२ जेठ : सूर्यविनायक नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रम निर्माण गर्ने प्रक्रिया अघि बढाउँदै नगरवासीसँग सुझाव मागेको छ।

नगरपालिकाले “समृद्ध सूर्यविनायक निर्माणका लागि, तपाईंको सुझाव हाम्रो मार्गदर्शन” भन्ने नारासहित सार्वजनिक सूचना जारी गर्दै स्थानीय नागरिक, करदाता, बुद्धिजीवी, संघ–संस्था तथा सरोकारवालाहरूलाई योजना निर्माणमा सक्रिय सहभागिता जनाउन आग्रह गरेको हो।

नगरपालिकाका अनुसार शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन, पूर्वाधार विकास, वातावरण संरक्षण, रोजगार प्रवर्द्धन, डिजिटल सेवा विस्तार, सुशासन तथा सामाजिक विकासका क्षेत्रमा प्राप्त सुझावलाई प्राथमिकताका साथ समेटिनेछ।

यस अभियानलाई थप प्रभावकारी बनाउन नगरपालिकाले विभिन्न डिजिटल माध्यमहरू प्रयोगमा ल्याएको छ। नगरवासीहरूले गुगल फर्म, इमेल, नगरपालिकाको आधिकारिक वेबसाइट, फेसबुक पेज तथा फोन/व्हाट्सएप मार्फत आफ्ना राय तथा सुझाव पठाउन सक्ने व्यवस्था गरिएको छ।

नगरपालिकाले तोकेको समयसीमा अनुसार आगामी जेठ ३१ गतेभित्र सुझाव तथा परामर्श पेश गर्न सबै नगरवासीलाई आग्रह गरिएको छ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले नागरिक सहभागितामार्फत नीति निर्माण प्रक्रियालाई अझ समावेशी, पारदर्शी र परिणाममुखी बनाउने उद्देश्य रहेको बताउनुभयो।

उहाँका अनुसार नागरिकबाट प्राप्त सुझावलाई गम्भीरतापूर्वक अध्ययन गरी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम तयार गरिनेछ।

नगरपालिकाले स्थानीय आवश्यकता र जनअपेक्षालाई सम्बोधन गर्ने योजनासहित सबै क्षेत्रका सरोकारवालालाई सक्रिय सहभागिताका लागि आह्वान गरेको छ।

यससँगै सूर्यविनायक नगरपालिकाले विकास योजना निर्माणमा नागरिकको प्रत्यक्ष भूमिका सुनिश्चित गर्ने दिशामा महत्वपूर्ण कदम अघि बढाएको जनाएको छ।