गुण्डू, जेठ २२ — सूर्यविनायक नगरपालिका–७, गुण्डूलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपन वडा घोषणा गरिएको छ। वडाभित्रका सबै बालबालिकाले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गतका आवश्यक खोप प्राप्त गरेको सुनिश्चित भएपछि विशेष कार्यक्रमका बीच वडा घोषणा गरिएको हो।
घोषणा कार्यक्रमसँगै ‘स्वस्थ बच्चा प्रतियोगिता’ पनि आयोजना गरिएको थियो। पूर्ण खोप प्राप्त गरेका बालबालिकाहरूबीच स्वास्थ्यसम्बन्धी २० वटा सूचकका आधारमा मूल्याङ्कन गरी उत्कृष्ट बालबालिका छनोट गरिएको थियो।

प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने बालबालिकालाई पुरस्कार प्रदान गरिएको थियो भने सहभागी सबै बालबालिकालाई मायाको चिनो वितरण गरिएको आयोजकले जनाएको छ।

वडाध्यक्ष रवीन्द्र सापकोटाले पूर्ण खोप सुनिश्चितता तथा दिगोपन वडा घोषणा हुनु वडाका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले बालबालिकाको स्वास्थ्य सुरक्षामा खोपको भूमिका अत्यन्त महत्वपूर्ण रहेको उल्लेख गर्दै आगामी दिनमा पनि कुनै पनि बालबालिका खोप सेवाबाट वञ्चित हुन नदिने गरी काम गरिने जानकारी दिनुभयो।

उहाँले स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक तथा समुदायको सक्रिय सहयोगकै कारण वडा पूर्ण खोप सुनिश्चितता तथा दिगोपन घोषणा गर्न सफल भएको बताउनुभयो।
कार्यक्रममा जनप्रतिनिधि, स्वास्थ्यकर्मी, महिला स्वास्थ्य स्वयंसेविका, अभिभावक तथा स्थानीयवासीको सहभागिता रहेको थियो।


