सूर्यविनायकका बालबालीकाले आफ्नो वडा र टोलमा भएका समस्याबारे जनप्रतिनिधिलाई गरे प्रश्न, बालमैत्री नगर निर्माणबारे राखे जिज्ञासा (फोटोफिचर)

कटुञ्जे: सूर्यविनायक नगरपालिकाका जनप्रतिनिधिहरुसँग बालबालीकाले अन्तरक्रिर्या गरेका छन् । सूर्यविनायक नगरपालिकाको आयोजना र नगरस्तरीय बाल सञ्जाल सूर्यविनायकाको समन्वयमा शनिबार नगरपालिकाको सभाहलमा बालबालीकाले जनप्रतिनिधिहरुसँग अन्तक्रिर्या गरेका हुन ।

बालबालीकाहरुले आफ्नो वडा र टोलमा भएका समस्या, आफूले भोगेका घट्ना, नगरपालिकासँग अपेक्षा र बालबालीकाको क्षेत्रमा नगरपालिका र वडाले गर्नुपर्ने कामका विषयमा जिज्ञासा राखेका थिए । कार्यक्रममा १० वटै वडाका गरि १ सय ५५ जना बालबालीकाको सहभागिता रहेको थियो ।

कार्यक्रममा नगरपालिका उपप्रमुख तथा स्थानीय बाल अधिकार समिति संयोजक सरिता तिमसिना भट्टराईले समग्र नगरपालिका, सामाजिक विकास समितिका संयोजक तथा वडा नंं ७ का वडाध्यक्ष रविन्द्र सापकोटा, वडा नंं २ का वडाध्यक्ष प्रदीप कार्की, वडा नंं ५ का वडाध्यक्ष राजकुमार जोशी, वडा नंं ८ का वडाध्यक्ष पुष्पराज बस्नेत, वडा नंं ९ का वडाध्यक्ष भगवान खत्री, वडा नंं १० का वडाध्यक्ष शिवराम राउतले वडागत रुपमा उठेका प्रश्नको जवाफ दिनु भएको थियो ।

त्यस्तै, कार्यापालिका सदस्यहरु कमला पोखरेल, हेमा दाहाल खतिवडाले पनि उठेका विभिन्न विषयमा प्रष्ट पार्नु भएको थियो ।

सो अवसरमा स्थानीय बाल अधिकार समिति संयोजक भट्टराईले नगरपालिकाले आगामी वर्ष २०८३ जेठ मसान्तसम्म नगरपालिकालाई बालमैत्री नगर निर्माण गरिसक्ने उद्देश्य लिएर अगाडि बढिरहेको जानकारी गराउनुहुँदै सोही तयारीअनुरुप बालबालीकासँग अन्तरक्रिर्या कार्यक्रम आयोजना गरिएको बताउनुभयो ।

उहाँले बालबालीकाले उठाएको सवाललाई सुझावको रुपमा ग्रहण गर्ने बताउनुहुँदै नगरपालिकाले बालबालीकाको क्षेत्रमा विशेष प्राथमिकताका साथ काम गर्दै आएको बताउनुभयो ।

नगरपालिकाले प्रत्येक वडामा बाल उद्यान निर्माण गर्ने, नगरपालिकाको कार्यालयमा पुस्ताकालय निर्माण गर्ने र बालमैत्री कक्ष बनाउने गरि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गर्ने पनि जानकारी गराउनुभयो ।

नगरस्तरीय बाल सञ्जाल सूर्यविनायक अध्यक्ष सिम्रन सापकोटाको सभापतीत्वमा सम्पन्न कार्यक्रममा महिला, बालबालीका तथा समाज कल्याण शाखा प्रमुख शर्मीला दाहाल, दिपेश विशुंन्केलगायतले पनि सहजीकरण गर्नु भएको थियो ।