सूर्यविनायकमा अत्याधुनिक फुटबल रङ्गशाला बनाउन जग्गा उपलब्ध गराउने सहमति, निर्माणको बाटो खुल्यो

भक्तपुर (कटुञ्जे), भदौ १२ – सूर्यविनायक नगरपालिकामा अन्तर्राष्ट्रिय मापदण्डअनुसारको अत्याधुनिक फुटबल रङ्गशाला निर्माणको लागि जग्गा उपलब्ध गराउने सैद्धान्तिक सहमति प्राप्त भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष पहल र अखिल नेपाल फुटबल संघ (एन्फा) को प्रस्तावमा सूर्यविनायक नगरपालिका वडा नं. ८ मा करिब २०० रोपनी सार्वजनिक जग्गा नयाँ रङ्गशालाका लागि सिफारिस गरिएको छ। नगरपालिकाको सक्रियतामा भएको सो सिफारिस नगर प्रमुख बासुदेव थापाले एन्फाका महासचिव किरण राईलाई औपचारिक रूपमा हस्तान्तरण गर्नुभयो । भदौ ३ गतेको नगर कार्यपालिका बैठकले उक्त निर्णय गरेको थियो ।

राष्ट्रिय खेलकुद परिषद्ले गत असार ५ गते जग्गा प्राप्तिका लागि नगरपालिकालाई पत्राचार गरेको थियो । जग्गा प्राप्ति सम्बन्धी पत्र अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव राईले राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङलाई समेत हस्तान्तरण गर्नु भएको छ ।

प्रधानमन्त्री ओली स्वयंले विभिन्न सार्वजनिक कार्यक्रममा अन्तर्राष्ट्रियस्तरको फुटबल रङ्गशाला बनाउने प्रतिबद्धता व्यक्त गर्दै आउनुभएको थियो। हालै प्रधानमन्त्रीसँगको निरन्तर संवादपछि, करिब ५० हजार दर्शक क्षमताको भव्य र आधुनिक स्टेडियम निर्माणको योजना अघि सारिएको हो।

नगर प्रमुख बासुदेव थापाको नेतृत्वमा रहेको नगरपालिकाले विकास र पूर्वाधार निर्माणमा देखाएको दूरदृष्टि, प्रतिबद्धता र खेलप्रेमी दृष्टिकोण भविष्यमा सूर्यविनायकलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेल गतिविधिको केन्द्रविन्दु बनाउने निश्चित भएको छ ।

नेपालमा हाल एकमात्र दशरथ रङ्गशाला अन्तर्राष्ट्रिय फुटबल खेलका लागि प्रयोगमा छ, जुन पटक–पटक एएफसीबाट अयोग्य ठहर भइसकेको कारणले हाल अन्तर्राष्ट्रिय खेलहरू आयोजना गर्न गाह्रो भएको छ। यस्तो परिस्थितिमा सूर्यविनायक नगरपालिकाको पहलले देशको खेल क्षेत्रको विकासमा नयाँ सम्भावनाको ढोका खोलेको छ।

अन्तर्राष्ट्रियस्तरको रंगशालाले युवा प्रतिभालाई प्रोत्साहन गर्ने, स्थानीय आर्थिक गतिविधिमा टेवा पुर्‍याउने र सूर्यविनायकलाई ‘स्पोर्ट्स हब’ का रूपमा स्थापित गर्ने अवसर प्रदान गर्ने विश्वास गरिएको छ ।