भक्तपुर (कटुञ्जे), भदौ २९ – जेनजी आन्दोलनका कारण अबरुद्ध सूर्यविनायक नगरपालिका अन्तर्गतका सेवा आइतबारदेखि पुनः सुचारु भएको छ। आन्दोलनका क्रममा भाद्र २४ गते वडा नंं ४ र ७ का वडा कार्यालयमा तोडफोड तथा आगजनी भएको थियो। यस घटनापछि सुरक्षाका कारण वडा कार्यालय तथा अन्य कार्यालयहरुबाट प्रदान गरिने सेवा अर्को सूचना नआएसम्मका लागि स्थगित गरिएको थियो।
प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्यले आइतबार एक सूचना जारी गर्नुहुँदै वडा नंं ४ र ७ बाहेक अन्य सबै वडा कार्यालयहरू, स्वास्थ्य संस्थाहरू तथा नगर कार्यपालिकाबाट प्रदान गरिने सेवा पुनः सुचारु गरिएको जानकारी गराउनु भएको छ ।
वडा नंं ४ र ७ का वडा कार्यालय तोडफोड र आगजनी भई पूर्ण रुपमा क्षति भएको कारण सेवा सञ्चालन हुन सकेको छैन । तोडफोडबाट क्षति पुगेका वडा कार्यालयहरूको मर्मतसम्भार तथा सेवा पुनः सञ्चालनका लागि वैकल्पिक व्यवस्था मिलाउने प्रयास भइरहेको छ । दुवै वडामा अर्को सूचना जारी नहुँदासम्म सेवा स्थगित गरिएको जनाइएको छ ।





