सिरुटार, २३ मंसिर: सूर्यविनायक नगरपालिका–१ वडा कार्यालयको आयोजनामा “प्रविधिको सही प्रयोग गरौं, लैङ्गिक हिंसाको अन्त्य गरौं” भन्ने मूल नारासहित लैङ्गिक हिंसा विरुद्ध १६ दिने अभियान अन्तर्गत भव्य प्रभातफेरी सम्पन्न गरियो।

प्रभातफेरी कार्यक्रममा वडाध्यक्ष सानुकाजी कायस्थसहित जनप्रतिनिधिहरु, निजी तथा सामुदायिक विद्यालयका विद्यार्थी र शिक्षक, स्वास्थ्य चौकी प्रमुख तथा स्वास्थ्यकर्मी, विपद् व्यवस्थापन समितिका सदस्य, आमा समूह, महिला समूह तथा नेपाल प्रहरीले सक्रिय सहभागिता जनाएका थिए। करिब ३०० जनाको सहभागीता रहेको थियो ।

कार्यक्रमको मुख्य उद्देश्य समाजमा विद्यमान सबै प्रकारका हिंसाको अन्त्य गर्दै समता, सुरक्षित वातावरण र सम्मानजनक समाज निर्माण गर्ने सन्देश प्रवाह गर्नु रहेको आयोजकले बताएका छन्।

वडा कार्यालयले यस्ता कार्यक्रमले समुदायमा सचेतना वृद्धि गर्ने, सबैलाई एकताबद्ध बनाउने तथा प्रविधिको सुरक्षित र जिम्मेवारीपूर्ण उपयोगका माध्यमबाट हिंसामुक्त समाज निर्माणमा सघाउने विश्वास व्यक्त गरेको छ।


