समृद्ध नगर निर्माणका लागि सबै क्षेत्रबाट इमानदारीपूर्वक जिम्मेवारी निर्वाह गर्न आवश्यक: मेयर बासुदेव थापा

नंखेल, २८ चैत (भक्तपुर): सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाले कर्मचारी, जनप्रतिनिधि र जनता सबै एकजुट भए मात्र विकास निर्माणका काम प्रभावकारी रूपमा अगाडि बढ्न सक्ने बताउनु भएको छ।

नगर प्रमुख थापाले सूर्यविनायक नगरपालिका वडा नं ९ स्थित नन्दिकेश्वर महादेव मन्दिरको शनिबार नवनिर्मित प्रवेशद्वार उद्घाटन तथा समितिको साधारण सभा र ७ औँ अधिवेशनलाई सम्बोधन गर्नुहुँदै सबैले आ–आफ्नो ठाउँबाट इमानदारीपूर्वक जिम्मेवारी पूरा गरे मात्र देशलाई समृद्ध बनाउन सकिने बताउनुभएको हो ।

साथै, सबैले आत्मसमीक्षा गर्दै जनभावना बुझेर अगाडि बढ्नु आजको आवश्यकता रहेको उहाँको भनाइ थियो।

आफ्नो करिब ९ वर्षे कार्यकालमा नगरपालिकाले पूर्वाधार विकासमा उल्लेखनीय प्रगति हासिल गरेको बताउँदै उहाँले विकास निर्माण निरन्तर चलिरहने प्रक्रिया भएकाले यसलाई थप प्रभावकारी बनाउन सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो। नगरपालिकाले ५० शैय्याको अस्पताल स्थापना गरी सर्वसाधारणलाई सस्तो तथा गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको पनि उहाँले जानकारी दिनुभयो।

पछिल्ला वर्षहरूमा शिक्षा र स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राख्दै नगरपालिकाले मानवीय विकासमा ध्यान केन्द्रित गरेको बताउँदै उहाँले यस अवधिमा जनप्रतिनिधिहरूबीचको एकता र सहकार्यका कारण नै उपलब्धि सम्भव भएको बताउनुभयो। आगामी दिनमा पनि यही सहकार्य, समर्थन र प्रतिबद्धता कायम रहने विश्वास व्यक्त गर्नुभयो।

कार्यक्रममा केदारनाथ शीर डोलेश्वर महादेव मन्दिर संरक्षण समितिका अध्यक्ष धर्मराज बस्नेत ले नगरपालिकाले कला, संस्कृति, सम्पदा तथा पुरातात्विक मठ–मन्दिर संरक्षणमा महत्वपूर्ण काम गर्दै आएको बताउनुभयो।

समितिका अध्यक्ष श्रीराम ब्याञ्जुको सभापतित्वमा सम्पन्न कार्यक्रममा वडा अध्यक्ष भगवान खत्रीसहित जनप्रतिनिधि तथा स्थानीयवासीहरूको सहभागिता रहेको थियो। सोही अवसरमा प्रवेशद्वार निर्माणमा सहयोग गर्ने दाताहरूलाई सम्मान समेत गरिएको थियो।