भक्तपुर जिल्ला स्तरीय १४ औँ राष्ट्रपति कप सम्पन्न: खेलाडी प्रोत्साहनमा नगरपालिका सधैँ अग्रसर रहेको मेयर थापाको भनाइ

भक्तपुर जिल्ला स्तरीय १४औँ राष्ट्रपति कप (रनिङ शिल्ड) प्रतियोगिता भव्य रूपमा सम्पन्न भएको छ। सूर्यविनायक नगरपालिकाका नगर प्रमुख बासुदेव थापाको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो।

कार्यक्रममा नगर प्रमुख थापाले विजयी खेलाडी तथा विद्यार्थीहरूलाई शिल्ड वितरण गर्नुभयो। मन्तव्यका क्रममा उहाँले खेलकुदले व्यक्तित्व विकासमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्दै खेलाडीहरूलाई अगाडि बढाउन नगरपालिकाले निरन्तर सहयोग गर्दै आएको र आगामी दिनमा पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

उहाँले सूर्यविनायक नगरपालिकाले खेल मैदान निर्माण, खेलाडी प्रशिक्षणलगायतका कार्यक्रम सञ्चालनमा जोड दिएको जानकारी दिँदै आगामी दिनमा अझ प्रभावकारी रूपमा अघि बढ्ने बताउनुभयो। साथै, नगरपालिकाले पूर्वाधार विकासमा उल्लेखनीय प्रगति गरिसकेको उल्लेख गर्दै अब मानव विकासतर्फ केन्द्रित भएर काम गर्ने नीति लिएको पनि स्पष्ट पार्नुभयो।

जिल्ला खेलकुद विकास समितिका अध्यक्ष राजु थापाको सभापतित्वमा सम्पन्न कार्यक्रममा सूर्यविनायक–८ का वडाध्यक्ष पुष्पराज बस्नेत, सूर्यविनायक नगर खेलकुद विकास समितिका सदस्य सचिव दीपक थापालगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो। सो अवसरमा जिल्लाभरका खेलाडीहरूको उल्लेखनीय उपलब्धि र सहभागिताको प्रशंसा गरिएको थियो।

यसपटकको रनिङ शिल्डतर्फ भक्तपुर नगरपालिकाले सबैभन्दा बढी अंकसहित उपाधि जित्दै पाँचौँ पटक विजेता बन्न सफल भएको छ। प्रतियोगितामा विभिन्न विधामा प्रतिस्पर्धा हुँदै १,३०० भन्दा बढी खेलाडीहरूको सहभागिता रहेको थियो।