पाण्डुबजार एफसी बन्यो सूर्यविनायक मेयर कप फुट्सल च्याम्पियन

भक्तपुर । सूर्यविनायक नगरपालिका नगर खेलकुद विकास समिति द्वारा आयोजित ‘सूर्यविनायक मेयर कप जिल्ला स्तरीय फुट्सल प्रतियोगिता–२०८३’ को उपाधि पाण्डुबजार क्लबले जितेको छ।

प्रतियोगितामा पाण्डुबजार क्लब प्रथम, हेल्दी फुट्सल द्वितीय तथा भविष्य फाउन्डेसन तृतीय हुन सफल भएका छन्।

आज सम्पन्न सेमिफाइनल खेलहरू निकै प्रतिस्पर्धात्मक बनेका थिए। पहिलो सेमिफाइनलमा पाण्डुबजार फुटबल क्लबले भविष्य फाउन्डेसनलाई ४–० गोल अन्तरले पराजित गर्दै फाइनलमा स्थान बनाएको थियो भने दोस्रो सेमिफाइनलमा हेल्दी फुट्सलले सूर्यविनायक–१ लाई ३–१ ले हराउँदै उपाधि भिडन्तमा स्थान सुरक्षित गरेको थियो।

तेस्रो स्थानका लागि भएको खेलमा भविष्य फाउन्डेसनले सूर्यविनायक–१ लाई ६–२ ले पराजित गर्दै तेस्रो स्थान हासिल गर्न सफल भयो।

फाइनल खेलमा पाण्डुबजार फुटबल क्लब र हेल्दी फुट्सलबीच निर्धारित समयमा कुनै पनि टोलीले गोल गर्न सकेनन्। त्यसपछि खेल ट्राइबेकरमा पुगेको थियो। रोमाञ्चक ट्राइबेकरमा पाण्डुबजार एफसीले हेल्दी फुट्सललाई २–१ ले पराजित गर्दै प्रतियोगिताको उपाधि जित्न सफल भयो।

प्रतियोगिताको व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडीको पुरस्कार निर्विक थापाले प्राप्त गरे भने उत्कृष्ट गोलकिपर सबिन जोशी श्रेष्ठ घोषित भए। उच्च गोलकर्ताको उपाधि विवेक कवाङले हात पारे।

प्रतियोगितामा प्रथम हुने टोलीले रु. ६० हजार, द्वितीय हुने टोलीले रु. ३० हजार, तृतीय हुने टोलीले रु. २० हजार तथा सान्त्वना पुरस्कारस्वरूप रु. १० हजार प्राप्त गरेका छन्। व्यक्तिगत विधातर्फका विजेताहरूले जनही रु. १० हजार पुरस्कार प्राप्त गरेका थिए।

विजयी खेलाडीहरूलाई नगर प्रमुख बासुदेव थापाले पुरस्कार वितरण गर्नुभएको थियो। कार्यक्रममा बोल्दै नगर प्रमुख थापाले सूर्यविनायक नगरपालिकाले खेलकुद क्षेत्रको विकास तथा विस्तारका लागि खेलाडी उत्पादन, खेल मैदान निर्माणदेखि आवश्यक पूर्वाधार विकाससम्मका कामलाई प्राथमिकताका साथ अघि बढाइरहेको बताउनुभयो।

उहाँले नगरपालिकाले पूर्वाधार क्षेत्रमा उल्लेखनीय काम गरिसकेको र पछिल्लो समय शिक्षा तथा खेलकुद क्षेत्रको विकासलाई विशेष प्राथमिकतामा राखेर अगाडि बढिरहेको उल्लेख गर्नुभयो।

खेल जित–हारको विषय मात्र नभई शारीरिक, मानसिक तथा सामाजिक रूपमा व्यक्तिलाई सबल बनाउने महत्वपूर्ण माध्यम भएको भन्दै उहाँले खेलाडीहरूलाई निरन्तर मेहनत गर्न प्रेरित गर्नुभयो।

कार्यक्रममा शिक्षा शाखा प्रमुख रत्न कटवाल, सामाजिक विकास समितिका संयोजक रविन्द्र सापकोटा, वडा नम्बर–१ का वडाध्यक्ष सानुकाजी कायस्थ, वडा नम्बर–८ का वडाध्यक्ष पुष्पराज बस्नेत, कार्यपालिका सदस्य सुनील भुजेल, नगर खेलकुद विकास समितिका सचिव दीपक थापा लगायतको उपस्थिति रहेको थियो।

प्रतियोगितामा खेलाडीहरूको उल्लेखनीय सहभागिता रहेको आयोजकले जनाएको छ। साथै कार्यक्रममा राष्ट्रिय फुट्सल खेलाडी अन्जली मचामसीलाई विशेष सम्मानसमेत गरिएको थियो।