फुटपाथ अतिक्रमण गर्नेविरुद्ध सूर्यविनायक नगर प्रहरी आक्रामक, अटेरी व्यापारीका सामान जफत

कटुन्जे, भक्तपुर, ११ जेठ : सूर्यविनायक नगरपालिका पछिल्लो समय नगर क्षेत्रको सौन्दर्य, सार्वजनिक व्यवस्थापन र पैदलयात्रुको सहज आवतजावतलाई प्राथमिकतामा राख्दै कडाइका साथ एक्शनमा उत्रिएको छ।

नगरपालिकाले नियम विपरीत जथाभाबी फोहोर गर्ने, फुटपाथ अतिक्रमण गर्ने, सार्वजनिक स्थल अस्तव्यस्त बनाउने तथा पटक–पटक सचेत गराउँदा पनि अटेरी गर्ने गतिविधिविरुद्ध कारबाही प्रक्रिया तीव्र बनाएको जनाएको छ।

विशेषगरी बजार तथा मुख्य सडक आसपास फुटपाथ ओगटेर व्यापार गर्ने र नगरको सौन्दर्यमा असर पुर्‍याउने गतिविधिलाई नियन्त्रणमा लिन नगर प्रहरी बल सक्रिय रूपमा परिचालित हुँदै आएको छ।

यही क्रममा सूर्यविनायक चोकको फुटपाथ अतिक्रमण गरी फलफूल तथा अन्य सामग्री राखेर व्यापार गर्दै आएका व्यक्तिहरूलाई पटक–पटक सम्झाउँदा पनि अटेर गरेपछि नगर प्रहरीले ती सामान जफत गरेको हो।

नगरपालिकाले सार्वजनिक स्थान व्यक्तिगत प्रयोगका लागि कब्जा गर्ने प्रवृत्ति स्वीकार्य नहुने स्पष्ट पार्दै आगामी दिनमा पनि यस्ता गतिविधिविरुद्ध अनुगमन र कारबाहीलाई अझ प्रभावकारी बनाइने जनाएको छ। साथै सम्बन्धित व्यक्तिहरूलाई जरिवानासहित कानुनी कारबाही गरिने चेतावनीसमेत दिएको छ।