कटुञ्जे, ११ जेठ : भक्तपुरको सूर्यविनायक नगरपालिका वडा नं. ५ कटुञ्जे क्षेत्रमा गर्मीयाममा सर्वसाधारणको तिर्खा मेटाउने उद्देश्यसहित “तिर्खा मेटाउनको लागि सानो प्रयास अभियान” अन्तर्गत नि:शुल्क पिउने पानी वितरण कार्य सुरु गरिएको छ।

समाजसेवी सुरेश अच्छामी र किशोर नेपालको सक्रिय पहलमा सञ्चालनमा आएको अभियानअन्तर्गत सार्वजनिक स्थल, मन्दिर परिसर, बस स्टप, जेष्ठ नागरिक पार्क लगायत विभिन्न स्थानमा पिउने पानी स्टेशन स्थापना गरिएको हो।

अभियानले विशेषगरी बाटोमा हिँड्ने बटुवा, जेष्ठ नागरिक, बालबालिका, महिला तथा सर्वसाधारण नागरिकलाई सहज रूपमा स्वच्छ पिउने पानी उपलब्ध गराउने लक्ष्य लिएको छ। बढ्दो गर्मीयाममा सुरु गरिएको यो प्रयासलाई स्थानीयले मानवता र सेवाभावको प्रेरणादायी उदाहरणका रूपमा लिएका छन्।

अभियानकर्ताहरूका अनुसार समाज परिवर्तनका लागि ठूला कार्यक्रम मात्रै आवश्यक नपर्ने र साना सकारात्मक प्रयासले पनि ठूलो सन्देश दिन सक्ने विश्वासका साथ अभियान सुरु गरिएको हो।

मानव सेवा नै सबैभन्दा ठूलो धर्म भन्ने भावनासहित सञ्चालन गरिएको यस अभियानले सामाजिक उत्तरदायित्व, सहकार्य र मानवीय संवेदनालाई थप मजबुत बनाएको बताइएको छ।

यस्ता जनमुखी तथा सकारात्मक अभियानले समाजमा सहयोग, सद्भाव र सेवाभावको संस्कार विकास गर्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्दै आगामी दिनमा अभियानलाई अझ विस्तार गरिने जनाइएको छ।



