सल्लाघारी, जेठ १६ । भक्तपुर जिल्ला स्तरीय सूर्यविनायक कप बुद्धिचाल प्रतियोगिता आजदेखि औपचारिक रूपमा सुरु भएको छ। सूर्यविनायक नगर खेलकुद विकास समितिको आयोजनामा प्रतियोगिता सल्लाघारीस्थित दिव्यश्री पार्टी प्यालेसमा एक विशेष उद्घाटन समारोहका बीच शुभारम्भ गरिएको हो।

कार्यक्रमको उद्घाटन सूर्यविनायक नगरपालिकाका प्रवक्ता रविन्द्र सापकोटाले गर्नुभएको हो। उद्घाटन गर्दै उहाँले स्थानीय स्तरमा बुद्धिचाल खेलको विकास, प्रतिभा पहिचान र खेलाडी उत्पादनका लागि यस्ता प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो।

“स्थानीय तहबाटै खेलकुदलाई प्रोत्साहन गर्न सके मात्र दीर्घकालीन रूपमा राष्ट्रिय स्तरका खेलाडी उत्पादन सम्भव हुन्छ,” उहाँले भन्नुभयो।

विशेष अतिथिका रूपमा कार्यपालिका सदस्य कमला पोखरेल रहनुभएको थियो भने जिल्ला खेलकुद विकास समिति सदस्य अनन्त वैद्य, नेपाल बुद्धिचाल महासंघका केन्द्रीय सदस्य निराजन प्रजापति र भक्तपुर जिल्ला चेस संघका अध्यक्ष बद्री दुवाल लगायत अतिथिहरूको उपस्थिति रहेको थियो।

यसैबीच समितिका सदस्य–सचिव दीपक थापाले प्रतियोगितामा जिल्लाभरिका ६४ जना खेलाडीहरूले सहभागिता जनाएका छन् भन्ने जानकारी गराउनुभएको थियो। उहाँका अनुसार प्रतियोगिता स्थानीय प्रतिभा पहिचान तथा बुद्धिचाल खेलको विकासलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना गरिएको हो।

प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीहरूले आगामी तेस्रो बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगितामा भक्तपुर जिल्लाको प्रतिनिधित्व गर्ने अवसर प्राप्त गर्नेछन्।

आयोजकले प्रतियोगितामा कुल ६७,५०० रुपैयाँ नगद पुरस्कारको व्यवस्था गरिएको जानकारी दिएको छ।
जारी प्रतियोगिता स्वीस लिग (Swiss League) प्रणाली अनुसार सञ्चालन भइरहेको छ। दुई दिनसम्म चल्ने यस प्रतियोगितामा कुल ७ देखि ९ राउन्डका खेलहरू खेलाइनेछ।
खेलको समय अवधि (Time Control) ३० मिनेट निर्धारण गरिएको छ भने प्रत्येक चालमा १० सेकेन्डको समय थपिने (Increment) व्यवस्था छ।
खेल बराबरी भई अङ्क समान भएमा विजेता छुट्ट्याउन (Tie-break) का लागि ‘डाइरेक्ट इन्काउन्टर’ (Direct Encounter), ‘बुखहोल्ज कट १’ (Buchholz Cut 1),’बुखहोल्ज कट २’ (Buchholz Cut 2) र ‘बढी जित’ (Greater number of wins) विधिहरू लागू गरिनेछ।
प्रतियोगितामा विधागततर्फ उत्कृष्ट महिला, सिनियर (५५ वर्ष माथि), अनरेटेड, तथा १२ र १६ वर्ष मुनिका (U12/U16) बालबालिका एवं छात्राहरूका (Girls) लागि समेत आकर्षक नगद पुरस्कारको व्यवस्था गरिएको छ।


