सूर्यविनायकका दुई वडामा बर्ड फ्लु पुष्टि, उच्च सतर्कता अपनाउन नगरपालिकाको आग्रह

कटुञ्जे, २१ जेठ :सूर्यविनायक नगरपालिकाका दुई वडामा घातक मानिने ‘बर्ड फ्लु’ (Highly Pathogenic Avian Influenza – H5N1 स्ट्रेन) संक्रमण पुष्टि भएको छ।

नगरपालिकाका वडा नं. ४ (दधिकोट) र वडा नं. १ (सिरुटार) मा अचानक कुखुरा मर्न थालेपछि संकलन गरिएको नमुना केन्द्रीय पशुन्छी रोग अन्वेषण प्रयोगशालामा परीक्षण गर्दा बर्ड फ्लु पुष्टि भएको हो।

संक्रमण थप फैलिन सक्ने उच्च जोखिमलाई मध्यनजर गर्दै नगरपालिकाले उच्च सतर्कता अपनाउन र जैविक सुरक्षा (biosecurity) का उपायहरू तत्काल लागू गर्न आग्रह गरेको छ।

संक्रमण नियन्त्रणका कडा निर्देशन

१. पन्छी फार्महरूमा अनावश्यक व्यक्ति तथा सवारीसाधनको प्रवेश पूर्ण रूपमा निषेध गरिएको छ।

२. फार्म प्रवेशअघि सवारी तथा व्यक्तिको अनिवार्य निःसंक्रमण (disinfection) गर्नुपर्नेछ र खोरभित्र–बाहिर दैनिक औषधि छर्कनुपर्नेछ।

३. एउटै फार्ममा काम गर्ने मजदुरलाई अन्य फार्ममा जान पूर्ण रोक लगाइएको छ। खोरभित्र प्रवेश गर्दा छुट्टै बुट र एप्रोन प्रयोग अनिवार्य हुनेछ।

४. पन्छी तथा पन्छीजन्य उत्पादनको ओसारपसारका लागि आधिकारिक भेटेरिनरी प्रमाणपत्र अनिवार्य गरिएको छ। प्रयोग भइसकेका अण्डा राख्ने क्रेट पुनः प्रयोग गर्न नपाइने व्यवस्था गरिएको छ।

५. मरेका पन्छीलाई तुरुन्त सुरक्षित रूपमा खाडलमा गाड्न निर्देशन दिइएको छ। साथै फार्मभित्र कुकुर, बिरालो र मुसा जस्ता जनावरको प्रवेश समेत रोक्न भनिएको छ।

कृषकहरूलाई नगरपालिकाको अपिल

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत युवराज आचार्य र पशु चिकित्सक डा. मुनल शाक्यका अनुसार फार्ममा अस्वाभाविक रूपमा कुखुरा बिरामी परे वा मरेमा लुकाउनुको सट्टा तुरुन्त नगरपालिकाको पशुन्छी विकास शाखा (सम्पर्क नं. ९८०२३९४००९) मा जानकारी गराउन आग्रह गरिएको छ।

कृषकहरूलाई व्यक्तिगत सुरक्षामा ध्यान दिन, नियमित हातधुने अभ्यास अपनाउन तथा स्वास्थ्यमा समस्या देखिएमा नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क गर्न समेत सुझाव दिइएको छ।

नगरपालिकाले समयमै चालिएको कडा निगरानी र नियन्त्रणका कारण संक्रमण अन्य क्षेत्रमा फैलिन नदिने विश्वास व्यक्त गरेको छ।